बुद्धका बारेमा भारतसँग औपचारिक रूपमा कुरा गर्न सरकारलाई नेता नेपालको सुझाव

भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धसम्बन्धी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आपति जनाएका छन् । विदेशमन्त्री एस. जयशंकरले ‘बुद्ध महान् भारतीय’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता नेपालले यसबारे नेपाल सरकारले भारतसँग औपचारिक रूपमा कुरा गर्नुपर्ने बताएका छन् ।

नेता नेपालले भारतीय नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीय विदेशमन्त्री एस. जयशंकरल ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक भएको बताएका छन् । आइतबार नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाटसमेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् भएको नेता नेपालको भनाइ छ ।

जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत आपति जनाएको थियो ।

सम्बन्धित समाचार