नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्यहरुको भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा ल्याउने प्रयत्न भइरहेको जानकारी दिए ।
नेता नेपालले स्थायी कमिटी बैठकमा आफूहरुको बहुमत भएको बताएका थिए । ‘हामीसँग बहुमत छ, बहुमत पक्षले कहिले पनि पार्टी फुटाउने काम र गतिविधि गर्दैन । ओलीजीहरु अल्पमतमा हुनुहुन्छ, अल्पमतमा परेकाहरुले पार्टी नफुटाउलान् भन्न सकिदंन ।,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यतले भने ।
बैठकलाई लम्ब्याउँदा समस्या समाधान नहुने भन्दै उनले प्रधानमन्त्री अोली बैठकबाट भाग्न नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले चाँडै नै स्थायी कमिटीको बैठक बोलाउने कुरामा आफू ढुक्क रहेको पनि नेता नेपालले बताए । प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ नभएको नेपालको जिकिर थियो ।