नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् ।
यस्तै नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।
यस्तै वीरगञ्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्ली र एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाको रहेको खुलेको छ ।
