गोंगबु हत्या प्रकरणः कल्पनाले हत्या गरेको स्वीकारिन्, दिइन् यस्तो बयान

गोंगबुमा आइतबार भएको बिभत्स हत्याको कारण खुलेको छ । दाङका कृष्णबहादुर बोहराको विभत्समा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कल्पना मुडवरी पौडेलले  हत्या गरेकाे  स्वीकारेकी छिन् ।  उनले  हम्मरले अण्डकोषमा हानेर हत्या गरेको बयान प्रहरीमा दिएकी छन् ।

प्रहरी स्रोतका अनुसार ती महिलाले आफूमाथि बोहराले सेक्सुअल ह्यारेसमेन्ट गरेपछि अन्तिम अवस्थामा हत्या गरेको जनएकी छन् । बोहराले आफूमाथि सेक्सुअल ह्यारेसमेन्ट गरेपछि सहन नसक्दा हम्मरले संवेदनशिल अंग अण्डकोषमा हानेर हत्या गरेर शवको व्यवस्थापन गरेको बयान दिएकी छन् ।



प्रहरी स्रोतका अनुसार ती महिलाले हत्या गरिसकेपछि शव सुटकेशमा हाल्न नमिलेपछि खुकुरीले काटेर शवलाई टुक्राटुक्रा परेको बताएकी हुन् भने शव व्यवस्थापनमा उनकी १५ वर्षीया छोरी समेत संलग्न रहेको जनाइएको छ ।

शवको व्यवस्थापन गर्न घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर फालेको र शव व्यवस्थापनमा छोरीले समेत सघाएको बयान महिलाले दिएको प्रहरी स्रोतले जनाएको छ ।

ती महिलाले हत्या गर्न पञ्जाको प्रयोग गरेको पाइएको छ भने हत्यामा प्रयोग भएको सामाग्री खुकुरी प्रहरीले बरामद गरेको जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ चितवनबाट हत्या आरोपित कल्पना मुडवरी पौडेललाई नियन्त्रणमा लिएको थियो । उनका श्रीमान् भने विदेशमा छन् । दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे। प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो।

गोंगबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रको शवमा टाउको र खुट्टा भने छुट्टिएको थियो।

प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो । शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको थियो ।

सम्बन्धित समाचार