नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
वयस्क चलचित्र क्षेत्रकी पूर्व अभिनेत्री मिया खलिफाले लेबनानको बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटबाट प्रभावित भएकाहरुको सहयोगका लागि रकम जुटाउनका लागि फरक उपाय अपनाएकी छन् । उनले छोटो अवधिका लागि पोर्न फिल्म इन्डस्ट्रीमा रहँदा वयस्क भिडियोहरुमा आफूले लगाएका चस्माहरु लिलामीमा राखेकी छन् ।
मियाले चस्माको लिलामीबाट आउने रकम बिस्फोटबाट प्रभावित भएकाहरुको सहयोगका लागि लेबनानी रेडक्रसलाई प्रदान गर्ने बताएकी छन् । मिया खलिफाले पोर्न भिडियोमा काम गर्दा हिजाबसँगै चस्मा पनि लगाउने गरेकी थिइन् । तिनै चस्मा अहिले उनले लिलामीमा राखेकी हुन् ।
लेबनिज–अमेरिकन खलिफाले सन् २०१५ को तीन महिना वयस् चलचित्र क्षेत्रमा काम गरेकी थिइन् । सो अवधिमा मात्रै ११ भिडियोमा काम गरे पनि वयस् चलचित्र क्षेत्रमा विश्वविख्यात भइन् ।
आफ्ना भिडियोबाट ब्यांगब्रोज, पोर्नहबसहितका वेबसाइटहरुले दशौँ लाख डलर आर्जन गरे पनि आफूले मात्रै १२ हजर अमेरिकी डलर पाएको उनले बताउने गरेकी छन् । २७ वर्षकी खलिफा हाल वयस्क चलचित्र क्षेत्रमा हुने दुर्व्यवहार र हिंसा विरुद्धको अभियानमा छिन् ।
वयस्क चलचित्र क्षेत्रको अनुभव र त्यसपछि आफूले सामना गर्नु परेका समस्याबारे खुलेर बोल्ने खलिफाले इन्स्टाग्राममा लिलामी सम्बन्धी जानकारी पोस्ट गरेकी हुन् । यो समाचार तयार पार्दासम्म खलिफाले पोर्न भिडियोमा लगाएको चस्माका लागि ९९ हजार ९ सय अमेरिकी डलरको ‘बिड’ परेको छ ।
लेबनानका लागि सहयोग जुटाउन उनले गरेको रचनात्मक प्रयासका लागि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । विगत ६ वर्षदेखि बेरुतको तटीय क्षेत्रको गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार राति बिस्फोट भएको थियो ।
त्यसमा परी अहिलेसम्म कम्तीमा २२० जनाको ज्यान गइसकेको छ । ११० जना अझै बेपत्ता छन् । ६ हजार मानिस घाइते भएका छन् ।