नेकपा अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमाथि छलफल जारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश गरिएका प्रतिवेदनहरुमाथि समूहगत छलफल चलिरहेको छ।

पार्टी एकीकरणपछि बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बसेको दोस्रो केन्द्रीय कमिटी बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



केन्द्रीय सदस्यहरू धेरै भएपछि उक्त प्रतिवेदनमाथि छलफल गर्न विभिन्न १५ वटा समूहहरुमा विभाजन गरिएको हो जसमध्ये पार्टी केन्द्रीय कार्यालय धुम्बाराही चार, पेरिसडाँडा तीन र राष्ट्रिय सभागृहमा आठ समूहमा छलफल चलिरहेको छ । छलफलका क्रममा उठेका प्रश्न र सुझावहरुलाई समेत एकीकृत गरेर मुख्य बैठकमा प्रस्तुत गरिनेछ ।

पार्टी एकतापछि पहिलोपटक बसेको कार्यसूचीसहितको पूर्ण बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता छ । आजको बैठकमा सातै प्रदेशका संयोजकले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची रहेको छ।

बुधवारबाट शुरू केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले वर्तमान सरकारले गरेको कामकारवाही र अगामी दिनमा सरकार र पार्टीले गर्नुपर्ने कामको बारेमा पनि चर्चा गरेका थिए । यसका साथै, उक्त बैठकमा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई छिट्टै नै संसदबाट पारित गर्नुपर्ने भनाइ दोहोर्याएपछि केन्द्रीय सदस्यहरूले यो विषयलाई पनि छलफलको एजेन्डा बनाउन माग गरेका थिए ।

पार्टी एकीकरणपछि बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १९ गते आइतवारसम्म चल्ने नेकपाले जनाएको छ ।

सम्बन्धित समाचार