नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
च्याम्पियन्स लिग अन्तर्गत आजराति बार्सिलोना र बायर्न म्युनिखबीच क्वाटरफाइनलको खेल हुँदैछ । नेपाली समय अनुसार १२:४५ मा हुने यो खेल को विजेता सिधै सेमिफाइनलमा पुग्ने छ । बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगमा सबैभन्दा बढी १८ पटक क्वाटरफाइनलमा पुग्ने टिम हुन् । त्यस्तै बार्सिलोनाको कुरा गर्दा बार्सिलोना लगातार १३ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । २००७-८ सिजन देखि लगातार क्वाटरफाइनलमा पुगेको बार्सिलोना च्याम्पियन्स लिगको इतिहासमा यस्तो गर्ने पहिलो टिम हो ।
त्यस्तै बार्सिलोना र बायर्नबीच २०१४-१५ मा सेमिफाइनल खेलपछि पहिलो पटक खेल हुँदै छ । सो खेलमा बार्सिलोनाले बायर्नलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो । तर च्याम्पियन्स लिगका कुल खेलमा भने बायर्नले बार्सिलोनालाई धेरै पटक हराएको छ । कुल ८ पटक भएका खेलमा बायर्नले ५ पटक जितेको छ भने बार्सिलोनाले २ पटक जितेको छ भने के पटकको खेल बराबरीमा सकिएको छ ।
त्यस्तै यस सिजनमा बायर्न म्युनिखले च्याम्पियन्स लिगका ८ खेल जितेको छ । च्याम्पियन्स लिगमा एकै सिजनमा धेरै ९ खेल जितेको रेकर्ड भने बार्सिलोनाको नाममा छ । बार्सिलोनाले २०१४-१५ मा एकै सिजनमा कुल ९ खेल जितेको थियो ।
यस खेललाई लियोनेल मेसी भर्सेज रोबेर्ट लेवानडोस्कीको रुपमा हेरिएको छ । लेवानडोस्कीको यो सिजन निकै उत्कृष्ट भएको छ । उनले यस सिजनको च्याम्पियन्स लिगमा अहिलेसम्म १३ गोल गर्दै धेरै गोल गर्ने खेलाडी रहेका छन् । बायर्नलाई जर्मनीको लिग जिताएका लेवानडोस्की यस सिजनमा उत्कृष्ट फर्ममा रहेका छन् । उनले यस सिजनमा अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५३ गोल गरिसकेका छन् ।
त्यस्तै मेसीले बार्सिलोनालाई सेमिफाइनलमा पुर्याउने लक्ष्य लिएपनि उनको बाटो त्यति सजिलो भने देखिदैन । मेसीले उत्कृष्ट फुटबल खेलेका दिन अन्य टिमलाई जित्न मुश्किल हुने भएपनि बार्सिलोना धेरै मेसीमै भर परेका कारण बायर्न बार्सिलोनामाथि हावी हुन सक्ने अनुमान गर्न सकिन्छ । तर पछिल्लो नापोलीविरुद्धको खेलमा बार्सिलोनाले देखाएको खेल हेर्दा बार्सिलोनाको आत्मविश्वास फर्किएको अनुमान गर्न सकिन्छ ।
समग्रमा यो खेल यस सिजनको च्याम्पियन्स लिगको अहिलेसम्मको ठुलो खेलको रुपमा लिन सकिन्छ ।