नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध आफ्नै देशमा तीनवटा खोप तयार भइरहेको दाबी गरेका छन् ।
भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित लालकिलामा शनिबार बिहान देशवासीलाई सम्बोधन गर्दै मोदीले कोरोना महामारीका कारण नागरिक चिन्तित रहेको भन्दै आफ्नै देशमा कोरोनाविरुद्ध एउटा होइन, तीन-तीनवटा खोप विकास भइरहेको बताएका हुन् ।
उनले भने, ‘सबै जना खोप कहिले आउँछ भन्ने जान्न चाहन्छन् । म तपाईंहरूलाई बताउन चाहन्छु कि भारतमा एउटा होइन, तीन तीनवटा खोप अलग अलग चरणमा परीक्षण भइरहेका छन् । एकपटक स्वीकृति पाउनेबत्तिकै व्यापक मात्रामा खोप उत्पादन गर्नेछौँ ।’
तर उनले कुन(कुन खोप कहिले तयार हुँदैछन् भन्नेबारे केही बताएनन् ।