नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
चीनसँग विवाद बढ्दै गएको समयमा अमेरिका र ताइवानबीच महत्वपूर्ण हतियार सम्झौता भएको छ । शुक्रबार भएको सम्झौताअनुसार ताइवानले अमेरिकाबाट यसैवर्ष ६६ वटा एफ–१६ युद्धक विमान भित्र्याउने छ । यो सम्झौता गतवर्षकै सम्झौताको प्रक्रिया भएको सीएनएनले जनाएको छ ।
एफ–१६ युद्धक विमान बनाउने लकहिड मार्टिन कम्पनीलाई ९० वटा यस्ता विमानको माग भएको अमेरिकी हवाई सेनाले जनाएको छ । यीमध्ये ६६ वटा विमान ताइवान पठाइनेछ । ताइवानले अमेरिकाबाट ६६ वटा युद्धक विमान भित्र्याउने विषयमा हालसम्म चीनको कुनै प्रतिक्रिया आएको छैन ।
यद्यपी ताइवानमा अमेरिकी गतिविधि चीन रुचाउँदैन । चीनले ताइवान आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ । यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ । अमेरिकाले ताइवानलाई छुट्टै देशको दर्जा दिएको छ । चीनले भने आफूले ताइवानलाई आक्रमण गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ ।
पछिल्लो समय ताइवानले चीनको एक देश दुई प्रणालीलाई नपछ्याउने बताइरहँदा चीन यस टापु राष्ट्रसँग रुष्ट छ । हाल चीन र ताइवानका सेनाहरुले सीमा क्षेत्रमा सैन्य गतिविधिहरु बढाउन थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले त ताइवान छुट्याउन चाहने शक्तिबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनालाई युद्धको लागि तयार हुन निर्देशन दिइसकेका छन् ।
यसबीचमा ताइवानले आफ्नो भूमि रक्षा गर्नेभन्दै अत्याधुनिक हतियारहरु तैनाथ गर्न थालेको छ ।