नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदाैं ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ। फ्रेञ्च मिडियाहरूका अनुसार नेइमारसँगै पीएसजीका एन्जल डी मारिया र लिएन्द्रो पारेडेसलाई पनि कोरोना संक्रमण भएको छ।
तीनै जना अब कम्तिमा एक साताको क्वारेन्टिनमा बस्नुपर्नेछ। यसअघि पीएसजीले विहीबार बिहान आफ्ना तीन जना खेलाडीलाई कोरोना लागेको पुष्टि गरे पनि खेलाडीको नाम भने खुलाएको थिएन।
आफ्ना मुख्य खेलाडीलाई कोरोना लागेसँगै पीएसजीले लिग वानका खेल स्थगित गर्न अनुरोध गरेको छ। लिगमा पीएसजीले आफ्नो पहिलो खेल लेन्ससँग शुक्रबार मध्यरातमा खेल्ने तालिका छ।