नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदाै ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ। शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो। पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल्नुअघि बाहिरिएको छ।
यसअघि जमैका तलावाजविरुद्धको खेल वर्षका कारण रद्द भएपछि सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्स पनि बाहिरिएको थियो। बार्बाडोस र सेन्ट किट्स बाहिरिएसँगै अंक तालिकाको चौथो स्थानको जमैकाले अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो। जमैकामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन्। उनले ७ खेलमा बलिङ गर्दा १० विकेट लिइसकेका छन्। जमैकासँगै शीर्ष स्थानको ट्रिन्बागो नाइट राइडर्स, दोस्रो स्थानको गुयना र तेस्रो स्थानको सेन्ट लुसिया पनि सेमिफाइनलमा पुगिसकेका छन्।
अन्तिम खेलअघि अंक तालिकाको पुछारमा रहेको सेन्ट किट्सले ३ अंक मात्र जोड्न सक्यो। पुछारबाट दोस्रो स्थानको बार्बाडोसको ७ अंक मात्र छ। दुई खेल खेल्न बाँकी जमैकाको ७ अंक भएसँगै दुवै टिम बाहिरिए। विहीबार राति भएको सेन्ट किट्सविरुद्धको खेल रद्द भएर एक अंक जोड्दा जमैकालाई फाइदा पुग्यो। खेलमा जमैका पराजित भएको अवस्थामा बार्बाडोस र सेन्ट किट्स दुवैको अन्तिम चारमा पुग्ने सम्भावना हुन्थ्यो।