नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण दिनहुँ हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
यसैबीच कोरोनाबाट सबैभन्दा प्रताडित देश अमेरिकामा एक नोभेम्बरबाट देशका सबै राज्यमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बाँड्न तयारी थालिएको छ । अमेरिकी सरकारले सबै राज्यलाई यसको लागि तयार रहन आदेश दिएको हो ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले २७ अगस्टमा गभर्नरलाई एक पत्र पठाएको छ । जसमा अबको केही समयमै यसको अनुमति मिल्ने बताइएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार सीडीसीले ५० राज्य र ५ ठूला शहरमा योजनको जानकारीको साथमा अधिकारीहरुलाई सम्पर्क गरेको छ । पहिलो टिका स्वास्थ्य कर्मचारी, नर्सिङ होमका बासिन्दाहरु र कर्मचारीहरुसहित रिस्क लिनेहरुको समूहलाई उपलब्ध हुनेछ ।