रुसी खोपले ‘साइड इफेक्ट’ देखाएन

रुसका वैज्ञानिकहरुले कोरोना विरुद्धको खोप सम्बन्धी पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा प्रारम्भिक परीक्षणपछि उक्त खोपले प्रतिरोधात्मक प्रणालीमा प्रतिक्रिया ल्याउने संकेत देखाएको हो ।

मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित सो रिपोर्टका अनुसार खोप लगाउने प्रत्येकको शरीरमा भाइरससँग लड्ने ‘एन्टिबडिज’ विकसित भएको हो र कसैमा पनि यसको गम्भीर ‘साइड इफेक्ट’ देखा परेन । गत अगस्टमा रुसले यो खोपलाई स्थानीय प्रयोगका लागि आधिकारिक लाइसेन्स दिएको थियो । पूरै डाटा सार्वजानिक हुनु अगाडि नै खोप प्रयोगमा ल्याउने यो पहिलो देश हो । तर विज्ञहरुले यसको ट्रायल अत्यन्तै सानो स्तरमा भएकाले यो खोप सुरक्षित र प्रभावकारी छ भन्ने पुष्टि गर्न नसकिने बताएका हुन् । अहिले मस्काउले यो नतिजा नै सबै आलोचकका लागि जवाफ भएको बताइरहेको छ ।



पश्चिमका धेरै विज्ञहरुले रुसको कामको गति हेर्दा उनीहरुले सबै वैज्ञानिक प्रक्रिया पूरा नगरेको हुन सक्नेबारे चिन्ता जनाएका छन् । यता राष्ट्रपति भलाद्मीर पुटिनले भने आफूहरुले सबै ट्रायल पास गरिसकेको र आफ्नै छोरीलाई पनि खोप लगाइसकेको दाबी गरेका हुन् ।

‘स्पट्निक–भी’ नामको यो खोपका दुई ट्रायल जुन र जुलाइका बीचमा सञ्चालन गरिएको थियो । ल्यान्सेन्टका अनुसार प्रत्येक ट्रायलमा ३८ स्वस्थ स्वयमसेवीहरु थिए जसलाई पहिले खोपको एउटा डोज दिइएको थियो र त्यसको केही हप्ता पछाडि फेरि अर्को ‘बुस्टर’ खोप लगाइएको हो । सहभागीहरु १८ देखि ६० वर्ष उमेरसम्मको भएको र ४२ दिनसम्म सबैको अवस्था निरीक्षण गरिएको बताइएको छ । उनीहरुले तीन हप्तामा एन्टिबडिज विकसित गरेका हुन् । यसमा अधिकांशलाई देखा परेको ‘साइड इफेक्ट’ स् टाउको दुख्ने र जोर्नी दुख्ने मात्र रहेको थियो ।

तर खोपको प्रभावकारीता र सुरक्षाबारे जाँच गर्न अझै लामो ट्रायल आवश्यक रहेको बताइएको छ । यसको तेस्रो चरणमा ४० हजार स्वयंसेवीहरु सहभागी हुनेछन् जसमा फरकफरक उमेर अनि संवेदनशील समुह पनि समावेश गरिनेछ । रुसले निर्माण गरेको यो खोपले प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन ‘एडेनोभाइरस’ नामक भाइरसको स्ट्रेन प्रयोग गरेको हो जसका कारण चिसो लाग्ने, रुघाखोकी लाग्ने गर्दछ ।

विश्वविद्हरुले यो खबरले हौसला दिलाएको तर दोस्रो ट्रायलबाटै यसको प्रभावकारीता प्रमाणित गर्न कठिन हुने बताएका छन् । किनकी अझैपनि सो खोपले सहभागीहरुलाई भाइरसबाट पूर्ण रुपमा बचाउनेछ भन्न सकिँदैन । जस्तै कि अहिलेको नतिजाले के देखाउँछ भने यो खोप १८ देखि ६० वर्ष उमेरका मानिसहरुका लागि ४२ दिनसम्म सुरक्षित छ तर त्यो भन्दा बढी उमेरका र पहिले नै जटिल स्वास्थ्य भएकाहरुमा यसको कस्तो असर पर्छ भन्ने अझै पत्ता लागेको छैन जो कोभिड–१९ को सबैभन्दा ठूलो जोखिममा छन् । र यस मार्फत कति समयसम्म सुरक्षित रहन सकिन्छ भन्ने अर्को प्रश्न पनि आउँछ जसको जवाफ यस सम्बन्धी गरिने लामो अध्ययन र अनुसन्धानपछि मात्र प्राप्त गर्न सकिन्छ ।

तेस्रो चरणको ट्रायलको लागि अहिले नै तीनहजार मानिसहरु नियुक्त गरिसकेको यसअघि रुसी अधिकारीहरुले बताएका हुन् । स्वास्थ्य मन्त्री मिखाएल मुरास्कोका अनुसार आगामी नभेम्बर वा डिसेम्बरदेखि नै देशव्यापी रुपमा खोप लगाउन सुरु गरिनेछ र यसमा उच्च जोखिममा रहेका समुहमा बढी केन्द्रित भएर काम गर्ने उनले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वव्यापी रुपमा १७६ सम्भावित खोप विकसित भइरहेका छन् जस मध्ये ३४ वटा मान्छेमा परीक्षण हुँदैछन् र ८ वटा मात्र तेस्रो चरणको ट्रायलमा पुग्न सफल भएका छन् ।

सम्बन्धित समाचार