नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
युइएफए नेसन्स लिग अन्तर्गत फ्रान्स विजयी भएको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले क्रोसियामाथि ४-२ गोल अन्तरको जित हासिल गरेको हो । फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान, डायोट उपामेकनो र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने एक गोल क्रोसियाका डोमिनिक लिभाकोभिकले आत्मघाती गोल गरेका थिए ।
यस खेलमा कोरोना संक्रमित भएपछि फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे भने अनुपस्थित रहेका थिए । त्यस्तै क्रोसियाका लागि डेजान लोभ्रान र जोसिप ब्रेकालाले एक एक गोल गरेका थिए । नेसन्स लिगमा फ्रान्सको यो लगातार दोस्रो जित हो भने क्रोसियाको लगातार दोस्रो हार हो ।
समुह ३ मा फ्रान्ससँगै पोर्चुगलले समेत आफ्ना दुवै खेल जितेको छ । अब अर्को खेल अक्टोबर ११ मा फ्रान्स र पोर्चुगलबीच हुने छ ।