नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
आम मानिसको सपना हुन्छ धेरै सम्पत्ति आर्जन गर्ने । सम्पत्ति आर्जन गर्न मानिसले दुई बाटो अबलम्बन गर्छन । पहिलो मेहनत र इमानको दोस्रो छोटो बाटो वा चोरी छलकपटको । मेहनतले आर्जित सम्पत्तिले दीर्घकालसम्म खुसी दिन्छ तर दोस्रो बाटो अपनाउनेले क्षणिक रमाइलो त गर्लान अधिकांश समय भय डर त्राससँग जिउनु पर्छ ।
सम्पत्तिकै लागि मानिसले धेरै उपाय लगाउने गर्छन् । जुन भोग्नेलाई पीडा र सुन्नेलाई रमाइलो लाग्नसक्छ । यस्तै हर्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन ।
१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ । यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ । यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् । ६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।
आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।