नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
बार्सिलोनाका पूर्व प्रशिक्षक क्यूक्वे सेटिन क्लबविरुद्ध अदालत जाने भएका छन् । बार्सिलोनाले बर्खास्त गरेको एक महिनासम्म पनि सम्झौता अनुसारको हिसाब फर्स्यौट नगरेपछि उनले कानुनको सहयोग लिने बताएका छन् । नयाँ सिजनको शुरु हुने बेलामा बार्सिलोना अर्को कानुनि झमेलामा पर्ने देखिएको छ ।
सेटिनसहित बार्सिलोनाका अन्य चार प्रशिक्षकले एक विज्ञप्ति जारी गर्दै आफुहरुको सम्झौता अनुसारको हिसाब फर्स्यौट नगरिएको बताएका छन् । सेटिन बाहेक अन्य तीन प्रशिक्षकलाई क्लबले अन्य भूमिका दिने भने पनि अहिलेसम्म नदिएको वक्तव्यमा उल्लेख छ । स्पेनिस मिडिया एएसका अनुसार सेटिनले २०२०-२१ सिजनको सम्झौता अनुसार ४ मिलियन युरो दाबि गरेको बताइएको छ ।
सेटिनसहित इडर सरबिया, जोन पासकुआ र फ्रान सोटोले व्यक्तव्यमा भनेका छन् – ‘एक महिनासम्मको मौनता पछि बार्सिलोनाको बोर्डले हाम्रो धेरै अनुरोध पछि पहिलो अफिसियल कम्युनिकेसन फ्याक्स मार्फत पाएका छौ । यो कम्युनिकेसनमा क्लब रोजगार सम्झौता अनुसार जाने देखिएको छैन ।’ व्यक्तव्यमा अगाडी भनिएको छ – ‘सेटिनको केसमा अगस्त १७ मा क्लब र क्लबका अध्यक्षले मलाई तुरुन्तै देखि लागु हुने गरि बर्खास्त गरेको सबैलाई थाहा छ । पहिलो पटक एक महिनापछि सम्झौता अनुसारको हिसाब फर्स्यौट नगरी कम्युनिकेसन गरिएको छ ।’
उनीहरुले यसले आफुहरुलाई सरप्राइज गरेको भन्दै बाध्य भएर यो प्रकरण हाम्रा वकिललाई हस्तान्तरण गरेको बताएका छन् । उनीहरुले आफुहरुसँग क्लबले गरेको सम्झौता अनुसार आफ्नो अधिकारको लागि कानुनी लडाई लड्नु परेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार सेटिनसँग सेटलमेन्ट नभएका कारण बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको ला लिगामा प्रशिक्षकको रुपमा दर्ता हुने प्रक्रिया नै रोकिएको छ । जसको कारण उनी बार्सिलोनाको पहिलो खेलमा प्रशिक्षकको रुपमा उपस्थित हुन समेत अहिलेसम्म नपाउने अवस्था बनेको उल्लेख गरिएको छ ।
बार्सिलोनाले ला लिगाको नयाँ सिजनको सुरुवात सेप्टेम्बर २७ मा भिल्ला रियलविरुद्ध खेलेर गर्दै छ ।