सिभिल बैंकले सुरू गर्यो किसान समृद्धि कार्डको सुविधा

सिभिल बैंकले किसानहरूको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरूप सम्पूर्ण कृषकहरूको समृद्घिको लागि बैंकले किसान समृद्धि कार्ड सेवाको सुरूवात गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृषि पेशामा आवद्ध ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रूपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रूपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रू पाँच लाखसम्मको ऋण सुविधा उपलब्ध गराइने उल्लेख छ ।



यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचतभन्दा बढी रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद व्याज रकमको गणना हुनेछ ।

यो ऋण सुविधा कृषिलाई मुख्य पेशाका रूपमा अँगाल्ने कृषकहरूलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने तथा आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिने छ । यो ऋण सुविधा लिनको लागि कुनै फर्म दर्ता भइरहनु नपेर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमा नै यो सुविधा उपभोग गर्न सकिने छ । हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुविधा ल्याएको जनाइएको छ ।

सम्बन्धित समाचार