सरकारको निर्देशन मानेनन् निजी ल्यावहरुले, पीसीआरको कति मूल्य लिन्छन् निजी ल्यावहरु ?

पीसीआर परीक्षणमा सर्वसाधरण नागरिक ठगिएको गुनासो बढेपछि नियम विपरीतको शुल्क नलिन सरकारले दिएको निर्देशनलाई पनि निजी प्रयोगशालाहरुले बेवास्ता गरेका छन् । कोरोना भाइरस परीक्षण गराउँदै आएका निजी प्रयोगशाला (ल्याव) हरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८९९ रुपैयाँ लिने अडान कसेका छन् ।

विभिन्न आठ वटा ल्याबले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै सोही शुल्क नै व्यवहारिक भएको दावी गरेका छन् । उनीहरुले सरकारको निर्देशन अनुसारको रकम अमान्य भएको स्पष्ट पारेका छन् ।



निजी प्रयोगशालाहरुले चर्को शुल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पीसीआर टेष्टको शुल्क २ हजार मात्रै तोकेको छ र सोही अनुसार शुल्क लिन समेत निर्देशन दिएको छ । तर पीसीआर परीक्षण गर्दै आएका ह्याम्स, बीएण्डबी, स्टार, मेडिसिटी, डिकोड, सेन्ट्रल, सौर्यलगायत आठ वटा प्रयोगशालाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै तीन हजार ८९९ रुपैयाँ शुल्क लिने बताएका हुन् ।

आफूहरुले उठाउँदै आएको शुल्क विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम नै रहेको उनीहरुको दावी छ । यसबाहेक निजी ल्याबहरुले शुल्कबारे सरकारसँग छलफल गरिरहेको पनि जनाएका छन् ।

यता स्वास्थ्य मन्त्रालयले बढी शुल्क लिएका निजी ल्यावहरुलाई कारवाही प्रक्रिया अगाढि बढाउनुको सट्टा मन्त्रालयमा बोलाएर सम्झाइएको बताएको छ । कोरोना महामारीका बेला समस्यै समस्यामा रहेका नागरिकमाथि नियम विपरीत चर्को शुल्क उठाउँदा समेत कारवाही गर्नुको सट्टा बोलाएर सम्झाउने मात्र काम गर्नु स्वास्थ्य मन्त्रालयको मौन समर्थन रहेको जानकार बताउँछन् ।

सम्बन्धित समाचार