नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।
यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ । विश्व खाद्य कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने नोबेल कमिटीले निर्णय गरेको हो ।
यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ जना व्यक्ति र १०७ संस्था मनोनयनमा परेका थिए । पुरस्कार जितेसँगै विश्व खाद्य कार्यक्रमले १ करोड नर्वेजियन क्रोनर पाउनेछ ।
सन् १९०१ देखि दिन थालिएको नोबेल शान्ति पुरस्कार अहिलेसम्म २४ पटक संस्थाले पाएका छन् । अरू नोबेल पुरस्कारको घोषणा स्वीडेनको स्टोकहमबाट गरिने भए पनि शान्ति पुरस्कार नर्वेको ओस्लोबाट घोषणा हुन्छ ।
यससँगै यस वर्षका लागि अहिलेसम्म पाँच विधामा नोबेल पुरस्कारको घोषणा भइसकेको छ । आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा हुनेछ ।