नवकान्तिपुर संवाददाता
भद्रपुर (झापा), १७ कार्तिक।

तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले मंगलबार भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ ।
भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले त्यसको सामना गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न अभ्यास गरिएको बताउनुभयो ।
अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीले आगलागी नियन्त्रणका उपकरण प्रयोग, आगो निभाउने विधि तथा उद्धार कार्यको व्यावहारिक अभ्यास गरेका थिए ।
यस्ता अभ्यासले सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उहाँले तिहारमा पटका तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन र घर तथा पसलमा आगो एवं विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।(रासस)

