हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छ : अध्यक्ष राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताउनुभएको छ ।

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा मंगलबार पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गर्नुभयो ।



अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भन्नुभयो, “सरकारमा नभएका कारणले हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।”

झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

यसैबीच श्रम संस्कृति पार्टीले मंगलबार अर्जुनधारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेर नै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।(रासस)

सम्बन्धित समाचार