पैसा र फोन स्क्रीनमा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी

कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।



अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ । तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

तुलनात्मक रूपमा फ्लू भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइएको पनि बताइएको छ। यद्यपि कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शङ्का कायमै रहेको बताएका छन् ।

कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्ने बताइँदै आए पनि हावाको माध्यमबाट पनि सर्ने विवरणहरू पनि सार्वजनिक भइरहेका छन् । यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस नोट (पैसा) वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहन सक्ने देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने कोभिड -१९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएपछि अझ अन्योल छाएको छ ।

सम्बन्धित समाचार