नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।
अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएका छन्। डेलिमेल अलनाइनका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन्।
थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाइएको हो र त्यसको प्रयोग सफल भएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकको सतहमा रहेका कोरोनालाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले बताएका छन्। अब यो उपकरण कोरोनाविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा गरिएको छ।
‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार यो स्प्रे मास्कमा पनि प्रयोग गरी हेर्दा उसैगरी भाइरस मार्न सक्ने पाइएको छ । ‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित यो शोधपत्रमा प्लाज्मा जेटलाई कोरोनाभाइरसविरुद्धका ४ आधारभूत कुराहरुमध्ये एक मानिएको छ । स्थिर ग्यासलाई तताएर वा इलेक्टेम्याग्नेटिक फिल्डको सम्पर्कमा ल्याएर यसलाई बनाउन सकिन्छ ।