फ्रान्समा पनि भेटियो नयाँ रूपको कोरोना भाइरस

फ्रान्समा पनि कोरोना भाइरसको नयाँ रूप भेटिएको छ। यसअघि पत्ता लागेको नोबेल कोरोना भाइरस (सार्स-कोभ-२) भन्दा पनि बढी संक्रामक देखिएको नयाँ रूपको कोरोना भाइरस आफ्नो देशमा पनि भेटिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। नयाँ रूपको कोरोना भाइरस आफ्नो देशमा भेटिएको यो नै पहिलो पटक भएको मन्त्रालयको भनाइ छ।

बेलायतमा केही दिनअघि नयाँ रूपको कोरोना भाइरस भेटिएको थियो। यो रूपको कोरोना भाइरस पुरानो कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ। यद्यपि यसको विस्तृत अध्ययन भने हुन बाँकी नै रहेको वैज्ञानिकहरूले बताएका छन्।



फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ रूपको कोरोना भाइरस भेटिएका व्यक्ति लन्डनबाट आएका हुन्। उनी डिसेम्बर १९ मा लन्डनबाट पेरिस आएका थिए। उनमा कुनै पनि लक्षण नदेखिएको र हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

बेलायमा नयाँ रूपको कोरोना भाइरस भेटिएपछि बेलायतबाट आउने मानिसहरूलाई धेरै देशले रोक लगाइसकेका छन्। नेपालमा पनि बेलायतबाट आउनेलाई प्रवेश निषेध गरिएको छ।

सम्बन्धित समाचार