भारतमा छ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतमा एक करोडभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ । यूकेमा यही महिनाको शुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ। ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए।

भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। भारतले गत साता नै कैयन् अन्य देशजस्तै यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको थियो।



यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।

एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ। यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।

तिनमा कोरोना भाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ। गत एक महिनामा यूकेबाट ३३ हजार मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ।

क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ। यूकेमा केही समययता सङ्क्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन् । सोमबार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो।

‘यो नयाँ प्रकारको भाइरसले बरबाद पार्न सक्छ र हाम्रा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त पारिदिन सक्छ,’ भारतमा सयौँ कोरोना भाइरसका बिरामीको हेरचाह गरिसकेका सघन उपचार विशेषज्ञ डा ए फताहुद्दीनले बताए। नयाँ प्रकारको कोरोना भाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ।

सम्बन्धित समाचार