नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।
पेट्रोलियम व्यवसायीहरूले आफूहरूले राखेका मागहरूप्रति सम्बन्धित निकायहरूले बेवास्ता गरेकोले ध्यानाकर्षण गर्न आन्दोलन गर्ने भएका छन् । पेट्रोलियम व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले एक विज्ञप्ति प्रकाशन गरी उक्त कुराको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘यस एशोसिएशनले निगम र सम्बन्धित निकायहरूमा व्यवसायीहरूको कमिशन वृद्धि सम्बन्धमा पटक पटक भएका सहमती र निर्णयहरूसमेत कार्यान्वयन नभएपछि एशोसिएशनले बाध्य भई मिति २०७७ माघ १ गतेबाट साविकको खुद्रा बिक्री मूल्यमा ५० पैसा थप गरी बिक्री बितरण गर्न मिति २०७७ पौष २२१ गते प्रेस विज्ञप्तिमार्फत् नै सबै सदस्यहरूलाई जानकारी गराइसकिएको छ ।’
‘उल्लेखित समस्या समाधान गर्ने सम्बन्धमा निगमलगायत सम्बन्धित निकाय अझै पनि सकारात्मक हुन नसकेको र विभिन्न सञ्चारमाध्यमहरूबाट व्यवसायीहरूलाई नै कारवाही गर्ने खालका धम्कीपूर्ण समाचारहरू प्रकाशित भएको तर्फ एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
अगाडि भनिएको छ– ‘यही विषयमा व्यापक छलफल गर्न एशोसिएशनले मिति २०७७ माघ ७ गते काठमाडौंमा केन्द्रीय कार्य समितिको बृहत् बैठक आह्वान गरिएको हुँदा उक्त बैठकले आन्दोलनका विविध कार्यक्रम सार्वजनिक गर्ने व्यहोरा आम सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै यस परिस्थितिबाट आम उपभोक्तामा पर्न जाने असरप्रति सम्बन्धित निकायको नै जिम्मेवारी हुने व्यहोरा दुःखका साथ जानकारी गराउँदछौं ।’