नवकान्तिपुर संवाददाता
काठमाडौं, १ माघ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ। फाइनलमा पीएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्यो । पीएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे।
मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पीएसजीका लागि ८५ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २–० गोलको अग्रता दिलाए।
खेलको ८९ औं मिनेटमा पायटले गोल गर्दै मार्सेलीलाई २–१ को स्थितिमा ल्याए। तर बाँकी समयमा गोल गर्न नसक्दा पीएसजीसँग मार्सेली २–१ गोलअन्तरले पराजित भएको हो।
पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि यो पहिलो उपाधि हो। पीएसजीको भने सुपर कपमा यो १० औं उपाधि हो