…अनि भागेँ म (कविता)

…अनि भागेँ म, हावाको बेगमा
तुफानका कणहरू पन्छ्याउँदै
पर धेरै पर..
तुवाँलो लागेको देशमा
काखी च्यापेर सुनौला सपनाहरू
औंला भाँच्दै गन्दैछु आज
के पाएँ अनि गुमाएँ आखिर मैले ?

दलिन भाँचिएको घर…
आमाका नङ्ग्रे औँलाहरूले
आँगनको डिलमा
रातो माटो छ्याप्तै पोतिएको
तुलसीको मोठ,
चिसो हावा खान
सँधै भेला हुने त्यो पिपलको बोट
अनि बाँसको छहारी…,
प्रचण्ड घामको ताप सहन नसक्दा
आँखा छल्दै..
बडा बडा नहर र पैनीहरूमा
पौडिन कुद्ने त्यो बाल्य जमात,
दुई ओठले मुन्टो च्याप्प चेपेर तन्तन् तान्दै
घुटुक घुटुक निलेको
बकेर्नो गाईको दुध…..
निख्रिएको थुन
अनि चिम्रिएका आँखाहरू
राता राता बनाउँदै
खाली बाल्टी देखाएर
पुलुक्क मेरो अनुहार हेर्दै
‘आज मैले दूध चोर फेला पारेँ
पख तँलाई’….भनी
दायाँ कान निमोठ्तै बुवाले
बायाँ गाला फुलाएको सम्झिँदा
आज झस्किएँ र खाटबाट झरेँ म ।



माघे मेला अनि रोटे पिँङ्ग
लिम्बुनी दिदीले फनक्क घुमाएको
काँडे सेल..अनि तारेको झिँगे माछा,
चिसोमा निकै स्वादले जिब्रो फड्कार्दै
सिउसिऊ गरी सुरूप् सुरूप् तानेको
तात्तातोे थुक्पाको झोल..
अनि
‘ओई बाउनी बजै….
ला..खा…’ भनी हलुङ्गेको डबकाभरि
टिल्पिल् कोदोको सेतो झोल
मेरा साना साना हातमा थमाउँदै
‘अन्तरी..यो गाईको बाक्लो मोही हो
जाडोमा ज्यान तताउँछ….
आँखा चिम्म गर र
स्वाट्ट तान्…’ उनले भनिन् ।

बाहुनको घर..कडा शासन
मोही नै होला भन्ठानेँ
र घुटुक्क पारेँ मैले,
साँझ घर हल्लियो…
बुवाको ठुलो आवाज र धोध्रे बोली
आमा माथि बज्रियो…
सिधा आमा निःशब्द…
अनि बग्रेल आँशुका धाराहरू..
बुवाको खाउँलाझैँ रूखो व्यवहार
‘अबिकाऊ भै तेरी छोरी
जाँडको कुलतमा फँसी…
अब जे गर्छेस् गर…!’

बुवाको अपमानित शब्द
कलिलो मष्तिस्कमा गाडियो ।
‘जात गयो रे…’ आमाको बोली
मुखबाट फ्याट्ट बाहिर निस्कियो ।
फरक्क ढोकातिर मुन्टो फर्काएँ
र,
फुत्त बाहिर निस्किएँ म ।

रोएरै बित्यो त्यो रात
परालको कुन्यौँमा,
चिसो समय फाटेको कपडा…
अनिँदा आँखा
अनि फुस्रो अनुहार लिएर
झिसमिसे उज्यालो
धुलाम्मे सडक किनारमा
भक्का बेचेर बसेकी
मेरी आमाकी साथीसँग
सयको हरियो नोट मागेर
लामो रूटको बसमा फालहानिएँ म,
अर्थात् अनि भागेँ म ।

आज दुई चार मान्छेबीच
परिचित नै छु…तर
गुमनाम भएकी छैन…
अब,
परिश्रमले दुई रूपैँया कमाउनु छ
अनि त्यो पुरानो जिर्ण घरको
भाँचिएको दलिन फेर्नुछ ।।

 

सम्बन्धित समाचार