नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
लियोनल मेस्सीले बार्सिलोनाको खेल जीवनमा पहिलोपटक रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको आइतबार राति भएको फाइनल खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् । बार्सिलोनालाई पराजित गरेर एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
बार्सिलोनाबाट ७५३ औँ खेलमा सहभागी भएका मेस्सीले अतिरिक्त समयको अन्तिम समयमा रातो कार्ड पाएका हुन् । भिएआर मार्फत घटनाको रिभ्यू गरिएपछि मेस्सीलाई रातो कार्ड दिइएको हो ।
बार्सिलोनाले दुईपटक एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता लियो । तर एथ्लेटिको बिल्बाओका लागि ओस्कार डी मार्कोस र भिल्लालिब्रेले बराबरी गोल गरे । अन्तिम समयमा इनाकी विलियम्सले एथ्लेटिकोका लागि विजयी गोल गरे । एथ्लेटिको बिल्बाओले सन् १९८५ यता दोस्रो पटक उपाधि जितेको हो ।
१२० औँ मिनेटमा बिल्बाओका गोलरक्षक भिल्लालिब्रेसँग मेस्सीको टकराव भएको थियो । सोही कारण उनले रातो कार्ड पाएका हुन् । मेस्सी यसअघि दुईपटक रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए, ती दुवै समय उनले राष्ट्रिय टिमबाट खेलेका थिए ।
बार्सिलोनाबाट पहिलोपटक रातो कार्ड पाएका मेस्सीमाथि कम्तिमा चार घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने छ ।