केयूको उपकुलपतिमा तीन जना सिफारिस

काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा माकाजु, केयूका पूर्वरजिष्ट्रार डा भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।



माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनैलाई फेरि सर्च कमिटीले तेस्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

केयूका उपकुलपति डा। माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।

सम्बन्धित समाचार