एलपी पौड्याल
काठमाडौं, १३ माघ ।
अहिले मुलुकमा मञ्चन भइरहेको नाटकमा ओली समूह तथा प्रचण्ड समूह दुबैको हार हुनुपर्छ । जित केवल न्यायका पक्षमा, पद्दति र प्रणालीका पक्षमा र जनताका पक्षमा हुनुपर्छ । जनताको जित हुनु भनेको देशको जित हुनु हो र देशको भविष्य सुरक्षित हुनु हो ।
मुलुकभित्र अनेकन समस्याहरू विद्यमान छन् । अन्य समस्याका अतिरिक्त कोरोनाको कहरबाट सिङ्गो देश त्रस्त छ । तीन वर्ष पहिले सम्पन्न चुनावअगाडि जनताका सामु जेजे समस्याहरू थिए, केही नेताहरूलाई छोडेर आज पनि ती सबै समस्याहरू यथावत रूपमा जीवित छन् । दुईतिहाइ नजिकको ऐतिहासिक मत पाएर बनेको कम्युनिष्ट सरकारबाट जनताले गरेको आशामा पूर्णतः तुसारोपात भएको छ । महङ्गी आकाशिएको छ । जनजीविकाका सवालमा माखो मरेको छैन । उखु किसानदेखि डा.गोविन्द केसीले उठाएका मागहरू आज पनि उही रूपमा छन् । मुलुकभित्र रहेका यस्ता हजारौं समस्याहरूसँग ओली समूह र प्रचण्ड–नेपाल समूह पूर्णतः बेखबरजस्तै छन् । जनजीविकाका सवालमा, मुलुकको विकास र समृद्धिका सवालमा सबै मुकदर्शक मात्र बने । जब आफ्नो स्वार्थअनुकूल काम भएन, अनि मात्र उनीहरू सडकमा आए र भने ‘हामी यहाँ छौं ।’ त्यसैले यी दुई पक्षबीच अहिले देखिएको रडाको केवल स्वार्थको झगडाबाहेक केही होइन ।
आफ्नो स्वार्थ मिलुञ्जेल प्रचण्ड, नेपाल, खनाल र गौतमहरूलाई ओलीले महान् मात्र देखेनन्, दुधले नुहाएका निष्कलङ्क पनि देखे । स्वार्थ पूर्ति हुने सम्भावना देखुञ्जेल ओलीलाई पनि प्रचण्ड, नेपाल, खनाल र गौतमहरूले कम महान् देखेनन् । जब स्वार्थ बाझियो, तब एक समूहले अर्को समूहलाई आफ्नो पदीय मर्यादा बिर्सेर तथानाम गाली गर्न आरम्भ गरे । प्रतिपक्षी दलहरूलाई उछिनेर विशाल जेटका दुई पाइलटहरूले एउटाले अर्काको उछितो काड्न थाले । उछितो काड्नमा दुई पाइलटबीच प्रतिस्पर्धा नै चल्यो र यो क्रम जारी छ ।
पार्टीभन्दा व्यक्ति किमार्थ ठूलो हुन सक्तैन । ओली पार्टी लाइनभन्दा बाहिर गएको भए, अधिनायकत्ववादी चरित्र देखाएको भए उनलाई पार्टीले नै साइजमा ल्याउन सक्नुपथ्र्यो । उचित कारवाही गर्न सक्नुपथ्र्यो तर गरिएन । किन गरिएन ? किन भने कारवाही नगरेपावत ओलीबाट प्रचण्ड, नेपाल, खनाल र गौतमहरूलाई व्यक्तिगत रूपमा ठूलै पुरस्कार पाउने लालसा जीवित थियो । ओलीले पनि व्यक्तिको तौलअनुसार विभिन्न कार्ड फ्याँक्तै गए र प्रचण्ड, नेपाल, खनाल र गौतमहरू ओलीले फ्याँकेको कार्डमा अलमलिरहे । अलमलिए मात्र होइन, आफ्नै समूहका साथीलाई नै मात दिन भित्रभित्रै लागिपरे । आज एउटा समूहमा रहेको व्यक्ति भोलि अर्को समूहमा गएको समाचार बनिरहे । मिडियाले पनि मसला पाइरहे । जब उनीहरूले बल्छीमा उनिएको गँड्यौला माछालाई आहारा दिएको होइन रहेछ भन्ने बुझे, अनि मात्र आफू व्युँझिएको अनुभूति गरे र बर्बराउन थाले ।
उता ओलीका दृव्यदृष्टिले पनि आफ्ना कार्डले काम नगरेपछि मात्र प्रचण्डले छोरीलाई जिताउन मतपत्र च्यातेको देखे । हिजो षडयन्त्रका साक्षी बनेका प्रधानमन्त्री आफैंले जितलाई लालमोहर लगाइदिएका थिए, किनभने त्यतिबेलासम्म ओलीलाई प्रचण्डबाट अझै केही लिन सकिन्छ कि भन्ने आशा जीवितै थियो । एउटाले अर्कोलाई ‘युज’ गर्न सक्ने सम्भावना रहुञ्जेल जति गलत काम गरेको भए पनि एकले अर्कोलाई ‘महान्’ नै देखे । जब ओलीलाई प्रचण्डबाट अब केही नझर्ने लाग्योे, तब मात्र उनका दिव्यदृष्टिले प्रचण्डले षडयन्त्र गरेको देखे, अपराध गरेको देखे । अरू पनि धेरै के के देखे । नैतिकताको कुरै नगरौं ।
ओली महत्वाकांक्षी बन्नुमा पनि प्रचण्ड, नेपाल, खनाल र गौतमहरूकै पनि महत्वपूर्ण भूमिका छ । पार्टीको एउटा सदस्यका रूपमा ओलीलाई ट्रयाकमा हिँडाउन नसक्नेहरूले आफ्नै पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्रीका विरूद्धमा गुपचुप अविश्वासको प्रस्ताव दर्ता गरे । पार्टी पद्दतिमा यो चाल पनि ठीक थिएन । ओली कुन हदसम्म जान सक्छन् भन्ने पूर्व अनुमान नभएको होइन तर पनि समयमा विधानसम्मत् उपचार खोज्न सकेनन् । बरू बहुमतको आडमा ओलीलाई प्रधानमन्त्रीबाट फालेर ‘देखाइदिने’ हुँदा उल्टै ओलीले देखाइदिए । आफ्ना सबै चाल विफल भएपछि मात्र प्रचण्ड समूहले ओलीलाई सर्वसत्तावादी देखे । पार्टी विधि र पद्दतिमा चलेको भए आजको दिन आउने नै थिएन र देशले यो दुर्गति देख्नुपर्ने थिएन । त्यसैले ओली चरम महत्वाकांक्षी बन्नुमा उनीहरूको स्वार्थ र ढुलमुले स्वभाव पनि जिम्मेवार छ । स्वार्थका सबै चालहरू विफल भएपछि मात्र अनावश्यक रोइलो गर्नु र निरीह जनतालाई पटक पटक सडकमा उतारेर दुःख दिनु जनताले दिएको अभिमतको अवमूल्यन गर्नु हो । सरकारले नै जनतालाई सडकमा उतार्नु भनेको त नयाँ गाईजात्रा हो । अब दुबै पक्षले जनतालाई अनादर गर्ने कार्य बन्द गर्नुपर्छ ।
तुलनात्मक रूपमा ओलीमा पलाएको अहम्वाद लोकतन्त्रका लागि सर्वाधिक खतरापूर्ण हो । उनले कोठा, चोटा र मञ्चमा दिँदै आएको अभिव्यक्तिले उनको कदलाई हदैसम्म घटाएको छ, पदीय मर्यादाको धज्जी उडेको छ । पार्टीको बहुमतले गरेको निर्णय मान्दिन, विधान र पद्दति केही पनि मान्दिन भन्नु पार्टीका लागि मात्र होइन, मुलुककै लागि खतराको घण्टी हो । अझ प्रधानमन्त्री पद धरापमा पर्ने देखेपछि संविधानले नदिएको अधिकार प्रयोग गर्दै संसद विघटन गर्नु आजका लागि मात्र होइन, भोलिको लागि पनि दुर्भाग्यपूर्ण घटना हो । भोलिका दिन अर्को कुनै प्रधानमन्त्रीले आफू अलोकप्रिय भई पद धरापमा परेको महसुस गरेमा उसले पनि यही नजिरको समातेर पटक पटक संसद विघटन गर्नेेछ । र, भन्ने छ– लोकतान्त्रिक व्यवस्थामा नयाँ जनादेशका लागि जनतासमक्ष जान्छु भन्नु कसरी असंवैधानिक भयो ?
राम्रो काम गर्न रोज्दा आफ्नै पार्टीका साथीहरूले असहयोग गरेकोले संसद विघटन गर्नुपर्ने बाध्यता आइलाग्या भन्ने ओलीको तर्क पनि समय सान्दर्भिक देखिँदैन । नाटकको पृष्ठभूमि हेर्ने हो भने संसदको रोष्टममा उभिएर ओलीले जति मनगणन्ते कुरा गरे पनि सबैले ताली बजाएकै थिए । उनले संसदमा पेश गरेका विधेयकहरू पनि पास भएकै थिए । ओलीले भनेजस्तो अल्पमतमा परेका कारण कुनै विकासे विधेयक रोकिएको अवस्था नै थिएन बरू उनी आफैंले संसदमा राम्रो र लोकप्रिय विधेयक दिन नसकेका यथार्थ हो । संसदको विघटनको घटना प्रधानमन्त्रीले अरूलाई आफ्नो शक्ति ‘देखाइदिएको’ मात्र हो । घरभित्रको आन्तरिक झगडा व्यवस्थापन गर्न नसकेकै कारण संसदलाई नै तारो बनाइनु किमार्थ राम्रो कुरा थिएन र यो कुरा प्रधानमन्त्री स्वयम्लाई पनि राम्रोसँग थाहा छ । ओलीले कुनै दिन आत्मवृतान्त लेखे भने यो सन्दर्भ पक्कै उल्लेख हुनेछ ।
संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी कसैले पनि अभिव्यक्ति दिन पाइन्न, झन जिम्मेवार निकायले त पाउने कुरै रहेन । तर स्वयम् प्रधानमन्त्रीले जथाभावी दिएको अभिव्यक्तिले विधि र पद्दतिलाई चुनौती दिइरहेको छ । आफूले चाहिँ जे पायो त्यही बोल्दै हिँड्न हुने तर अरू कसैले चाहिँ विमति राख्यो कि झम्टेर जाइलाग्ने र अमर्यादित भाषा प्रयोग गर्ने ओली प्रवृति पनि प्रधानमन्त्रीको पदीय गरिमा अनुकूल छैन । तर जनता निरीह छन्, पार्टी मुकदर्शक छ र प्रतिपक्षीहरू फोहरमा माछा मार्न व्यस्त हुँदा ओलीलाई अंकुश लगाउन सक्ने हैसियत कसैमा नदेखिँदा सबैका आँखा सर्वोच्चतिर फर्केका हुन् ।
त्यसैले यस नाटकको पटाक्षेप हुँदा ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति दुबैको हार हुनुपर्छ । देशलाई हराउन खोज्ने प्रवृतिले हार्नुपर्छ । व्यक्ति हारेर केही फरक पर्नेवाला छैन, पद्दति, प्रणाली र विधिको जित हुनुपर्छ । देश हारेर व्यक्तिले जित्ने दिन आयो भने त्यो वर्तमानका लागि मात्र होइन, भावी पुस्ताको लागि पनि दुर्भाग्यपूर्ण हुनेछ ।