नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
नेपालमा अहिले भारतले दिएको अनुदानको खोप लगाइदै छ । स्वास्थ्यकर्मी र अग्रपंतिमा काम गर्नेहरू यो खोप लगाउनेको सूचीमा छन् । ९० प्रतिशत प्रभावकारी मानिएको यो खोप लगाए पछि केही चिकित्सकहरुमा गम्भीर स्वास्थ्य समस्या आएको खबरहरु आइरहेका छन।
कोरोना संक्रमणविरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेपछि सबैलाई चिन्ताको विषय भएको छ । दोलखाको सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केहीमा स्वास्थ्य मसस्या देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार १४ गते खोप लगाएका १५५ जनामध्ये ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी बिरामी परेका छन् । तर उनीहरुलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।
धेरैजसोमा ज्वरो आउने समस्या देखिएको छ । केहीले बोल्न पनि कठिन भइरहेको बताएका छन् । बुधबार र विहीबार लगाएको भ्याक्सिनको प्रभावबारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।
बैठकमा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र विहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको जानकारी दिएका थिए।