नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्। आज बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।
प्रचण्डले भने, ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनाव तोकेकी छन्।
तर यो कदम असंवैधानिक ठहर गर्दै सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्ष संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ भने कांग्रेस र जनता समाजवादी पार्टी पनि प्रतिनिसभा विघटनविरुद्ध आन्दोलनरत छन्। अहिले एक्लाएक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ।
