नवकान्तिपुर संवाददाता
वालिङ (स्याङ्जा), १० कार्तिक।

सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ ।
स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुले सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो ।
वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उहाँकी धर्मपत्नी निता बगाले, वालिङ–१०का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो ।
एउटै ठाउँका व्यवसायीहरुलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाबोध भएको वालिङ नगरउपप्रमुख कविता तिवारी गैहे्रले बताउनुभयो । दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये चार जना वालिङ–१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरु गुमाउनुको पीडाले आफन्त तथा स्थानीयहरु चिन्तित छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।

