नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

पूर्वमाओवादी निकट नेताहरूसँग खटपट सुरू भएसँगै प्रधानमन्त्री केपी ओलीले रामबहादुर थापा बादललाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । युवा संघको नयाँ पदाधिकारी चयन प्रकरणदेखि प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ प्रकरणसम्म बादलसँग मत बाझिएपछि ओलीे गृहमन्त्रीको विकल्प खोज्ने निष्कर्षमा पुगेका हुन् । साथै निर्वाचनको समयमा बादलले गृह मन्त्रालय चलाउन नसक्ने निष्कर्ष पनि ओली समूहले निकालेको छ ।
ओलीले हाल पार्टी एकता अभियान चलाएर अलपत्र परेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो समूहमा ल्याएर गृहमन्त्री बनाउन चाहेको स्रोतले बतायो । ओलीले गौतमसँग गत आइतबार यस विषयमा बालुवाटारमा झण्डै तीन घण्टा वार्ता पनि गरेका थिए । उक्त छलफलको क्रममा ओलीले वैशाखमै निर्वाचन हुने भन्दै अनुभवी गृहमन्त्री आवश्यक परेकाले गृह मन्त्रालय सम्हाल्न तयार रहन आग्रह गरेका थिए ।
गौतम पनि ओलीको कुरामा सकारात्मक रहेको बताइन्छ । वैशाखमैं निर्वाचन भएको खण्डमा एकता अभियान सफल हुन नसक्ने र अर्को पाँच वर्ष पछि परिने भन्दै गौतमले आफूनिकटहरूसँग गृह मन्त्रालय सम्हाल्नेगरी ओली समूहमा प्रवेश गर्नुपर्ने बताउने गरेका छन् । साथै गौतमले ओलीसँग पहिले गृह मन्त्रालय खाली बनाउन र त्यसपछि आफूनिकटकालाई पार्टी प्रवेश गराएर मात्र आफूलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पन आग्रह गरेको बताइन्छ । ओलीले यही साताभित्र बादललाई गृह मन्त्रालयबाट विदाइ गर्ने तयारी गरेको स्रोतले बतायो ।
वैशाखमै निर्वाचन गर्ने ओलीको तयारी
अदालतले संसद् पुनस्थापना नगरेको खण्डमा ओलीले वैशाखमै निर्वाचन गर्ने तयारी गरेको बुझिएको छ । प्रविधिक समस्या आएमा एक महिना पछि सार्ने अन्यथा वैशाखमै निर्वाचन हुने आफूनिकटहरूसँग ओलीले बताउने गरेका छन् । निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्ने र आफूहरू यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले पार्टीबाटै निर्वाचनमा जानुपर्ने ओलीले बताउँदै आएका छन् । सूर्य चिन्ह फ्रिज भएको अवस्थामा उदाउँदो सूर्य नै सूर्य चिन्ह हो भनेर प्रचार गर्न सजिलो हुने र प्रचण्ड माधव समूह नयाँ निर्वाचन चिन्ह लिएर निर्वाचनमा जाँदा नेकपा र पूर्वएमालेको भोट आफ्नै पार्टीलाई आउने बुझाइ ओलीको छ ।
यता नेपाली कांग्रेसले पनि निर्वाचनलाई स्वागत गरेको अवस्थामा प्रचण्ड–नेपाल समूहको मात्र विरोधले केही फरक नपर्ने ओलीको बुझाइ छ । अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेको अवस्थामा राजपा पनि निर्वाचनमा जाने र देशमा निर्वाचनको माहोल बन्नेमा ओली ढुक्क देखिन्छन् । निर्वाचनमा प्रचण्ड–नेपाल समूहको पकेट रहेको स्थानहरूमा कांग्रेससँग कार्यगत एकता गर्नेबारे पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भएको आफूनिकटसँग ओलीले बताउने गरेका छन् । आफूनिकट नेता कार्यकर्ताहरूसँग ओलीले निर्वाचनमा प्रचण्ड–नेपाल समूहलाई १० सिटमा खुम्च्याउन सकिने भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिने गरेका छन् ।
ओली समूहमा रहेका पूर्वमाओवादीहरूको बिजोग
संसद् विघटनसँगै पार्टी दुई चिरा परेपछि ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूको विजोग हुने भएको छ । पार्टी चिरा नपर्दैदेखि ओलीलाई साथ दिएका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टदेखि मन्त्री पाएपछि ओली समूहमा गएका उर्जामन्त्री तोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा र प्रभू शाहालगायतलाई ओलीले वेवास्था शुरू गरेका छन् । जनआधार नभएका र पद मात्र ओगट्ने भएकोले विस्तारै उनीहरूलाई मन्त्री पदबाट हटाउँदै नयाँलाई अवसर दिने ओलीको तयारी छ ।
ओलीले बेवास्था गर्न थालेपछि उनीहरूमध्ये केही प्रचण्ड–नेपाल समूहमै फर्कने तयारीमा छन् भने केही राजपामा प्रवेश गर्ने तयारीमा छन् । साथै ओली समूहमा रहेका पूर्वमाओवादीनिकट सबै नेताहरू एक भएर ओलीसँगै वार्गेनिङ गर्ने र ओलीले त्यसपछि पनि बेवास्था गरेमा सिंगो टिमले नयाँ पार्टी दर्ता गर्नेबारे पनि उनीहरूबीच परामर्श जारी छ । त्यो सम्भव नभएमा उनीहरू विभिन्न पार्टीमा लाखापाखा लाग्ने देखिएको छ ।
