नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस एवं जिल्लाकै पहिलो बालमैत्री नगर घोषणाको कार्यक्रममा मन्त्री ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताउँदै निर्वाचनबाट नभाग्न सबै राजनीतिक दललाई अनुरोध गरे । उनले प्रतिनिधि सभा विघटन संविधान अनुसार गरिएको उनले बताए ।
कार्यक्रममा पूर्व मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा विकासको गति र मुलुकको छवी उच्च भएको बताए । सरकारले घोषणा गरेको निर्वाचनबाट भाग्नेहरुले मुलुकलाई अस्थिरता तर्फ उन्मुख गराउन लागेको नेता बास्कोटाले बताए ।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा खानेपानी लगायतका क्षेत्रमा समृद्ध बनाउँदै अघि बढेको बताए । नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सुचक पुरा गरेकाले बालमैत्री नगर घोषणा गरेको नगर प्रमुख ब्याञ्जुले बताए।
