नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

आफूविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी ओली लिखित जवाफ लिएर आज सर्वोच्च अदालत उपस्थित हुँदै छन्। नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली आज अदालत जान लागेको जानकारी दिए।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो। गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
बाटोको म्याद हेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो। चार पूर्व प्रधानन्यायाधीशले भने सोमबार अदालत उपस्थित भएर लिखित जवाफ पेस गरिसकेका छन्।
