नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।

नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्।
नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटी सदस्यहरुलाई पेरिसडाँडामा जम्मा भइसक्न सर्कुलर गरिएको छ। ‘दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा जम्म हुन भनिएको छ, एक बजे निर्वाचन आयोग पुग्ने तालिका रहेको छ,’ पोखरेलले भने।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै अनौपचारिक रुपमा अलग्गिएको प्रचण्ड माधव पक्षले नेकपामा दाबी पेश गर्दै आएको छ। तर आयोगले यसको टुंगो लगाएको छैन।
प्रचण्ड माधव पक्षले साबिकको पार्टीमा रहेका ४४१ केन्द्रीय कमिटी सदस्य मध्ये ३९५ जना आफ्नो पक्षमा रहेको दाबी पेश गरिसकेको छ। यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले भने नेकपा नफुटेको दाबी गर्दै आएका छन्।
