नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।

प्रहरीले विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाएको छ। बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएपछि गत मंगलबार बस्नेत गोंगबुको नयाँबसपार्कबाट पक्राउ परेका थिए। उनीविरूद्ध सपनाले गत आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी थिइन्।
बस्नेतलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा पक्राउ गरेको थियो। अहिले प्रहरीले उनको फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
‘हाल अभद्र व्यवहार कसुरमा दर्ता छ। हामीले उनको फोन जाँच्न डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौं,’ एसएसपी सिंहले भने। त्यसबाट केही भेटिए उनीमाथि साइबर मुद्दासमेत चलाउने तयारी रहेको एसएसपी सिंहले बताए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाएको छ। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।
