नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन्। शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन्।
जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको उनको भनाई छ। निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने पनि उनले बताए। उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु। मैले अस्ति गएर सोधेँ, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन। केही भएको छैन। के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन।’
प्रधानमन्त्रीले अगाडि थपे, ‘जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन। जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्नेगरी, यहाँ कतिपय तत्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो। त्यसका विरुद्ध कुनै प्रकारको षडयन्त्र नहोस् भन्ने म चाहन्छु।’प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताए।
