नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।

त्रिवि, व्यवस्थापन संकाय, बजारशास्त्र विषय समितिले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबाट हालै सेवा निवृत्त हुनुभएकी प्राडा बगला बस्नेतलाई हार्दिक बिदाइ तथा बजारशास्त्र विषय समितिका नवनियुक्त अध्यक्ष प्राडा भोजराज अर्यालको सम्मानमा संघीय राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्ने सबै वक्ताले बजारशास्त्र विषय समितिका नवनियुक्त अध्यक्ष प्राडा अर्याललाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए भने हालै निवर्तमान हुनुभएकी विषय समितिकी अध्यक्ष प्राडा बस्नेतलाई उनले गरेका अनुकरणयोग्य योगदानको चर्चा गर्दै सेवा निवृत्त भएपछिको जीवनका लागि शुभकामना व्यक्त गरेका थिए । यसै क्रममा त्रिवि प्राध्यापक संघका सभापति प्राडा वसन्त ढकालले प्राडा बस्नेतलाई शुभकामना व्यक्त गर्दै नेपाली महिला प्राध्यापक र विषय समितिको अध्यक्षसमेत भई शिक्षा क्षेत्रमा पुर्याएको योगदान सार्क क्षेत्रकै लागि उदाहरणीय नमुना बनेकोमा प्रशंसा गरे ।
कार्यक्रममा विषय समितिका अध्यक्ष प्राडा भोजराज अर्यालले बजारशास्त्र विषयलाई यहाँसम्म ल्याइपुर्याउनमा प्राडा बस्नेतको ठूलो योगदान रहेको भन्दै महिला प्राध्यापक भएर पनि मुलुकभरि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममा सक्रिय सहभागिता देखाउन सकेकोमा प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा सह–प्रा ईश्वर लोहनी (शङ्करदेव क्याम्पसबाट अवकास प्राप्त), सह–प्राडा गोपाल थापा (निर्देशक, बीबीए कार्यक्रम, नेपाल कमर्श क्याम्पस), सह–प्रा नीरा श्रेष्ठ (निर्देशक, बीबीए कार्यक्रम, पद्मकन्या क्याम्पस), उप–प्रा मीखा श्रेष्ठ (सहायक क्याम्पस प्रमुख, शङ्करदेव क्याम्पस), उप–प्रा सन्तोष घिमिरे (व्यवस्थापन केन्द्रीय विभाग), उप–प्रा सुशील अवाले (व्यवस्थापन केन्द्रीय विभाग), एलपी पौड्याल (सम्पादक, नवकान्तिपुर डटकम), डा. स्वीकृति बस्नेत (बालरोग विशेषज्ञ) आदिले पनि आ–आफ्ना अनुभव सेयर गर्दै प्राडा बस्नेतको सेवा निवृत्त जीवनका लागि शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले सेवा निवृत्तपछि पनि आफ्नो ज्ञान, अनुभव र भोगाइहरूलाई कृति वा लेखरचनाका माध्यमद्वारा सामाजिक योगदान गर्न र आफूलाई क्रियाशील राख्न सुझाएका थिए ।
सेवा निवृत्त हुनुभएकी प्राडा बस्नेतलाई त्रिवि प्राध्यपक संघका सभापति प्राडा ढकालले मायाको चिनोस्वरूप शिशामा सजाइएको पशुपतिनाथको मन्दिर, ईश्वर लोहनीले खादा तथा प्राडा भोजराज अर्यालले फूलको गुच्छा प्रदान गरी सम्मान गरिएको थियो ।
प्राडा भोजराज अर्याल सभापति तथा प्राडा वसन्त ढकाल प्रमुख अतिथि रहेको उक्त बिदाइ तथा सम्मान कार्यक्रमलाई सह–प्राडा गोपाल थापाले सञ्चालन गरेका थिए ।

