नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याउने बताएका छन् । काठमाडौंको दहचोकमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले वार्ताप्रति देखाएको तत्परतालाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताए । ‘विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछौं भन्दा केहीलाई छटपटी भएको छ,’ उनले भने ।
अहिलेजस्तै पृथकतावादको नारा लगाएको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि एउटा समूह असन्तुष्ट रहेको प्रधानमन्त्रीले स्मरण गरे। प्रधानमन्त्री ओलीले आफूले लोकप्रियताका लागि काम नगरेको बताए । ‘मैले कसैले राम्रो भनोस् भनेर काम गरेको होइन,’ उनले भने ।
प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क लगाउने प्रतिबद्धता पनि जनाए । ‘सबै नागरिकलाई निःशुल्क खोप लगाउँछौ,’ उनको भनाइ थियो, ‘देश धनी छैन । मन धनी छ । आँट धनी छ ।’
