नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

नेकपाको प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटीको बैठक दिउँसो दुई बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीको आगामी रणनीतिबाट छलफल हुने पौडेलले बताए । उनका अनुसार स्थायी कमिटीको बैठकपछि पेरिसडाँडामै अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने छ । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार उल्ट्याउँदै संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि आफ्नो रणनीति तय गर्न प्रचण्ड-नेपाल समूह जुटेको छ । बैठकअघि अध्यक्षद्वय प्रचण्ड र नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने कार्यक्रम छ ।

