नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न बुधवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा बुधबार नै पूजाआराधाना गरी एक सय आठ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् ।
सर्वोच्चको आदेशमा भनिएको छ, पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नू-नगराउनू ।
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाइ छुट्टाछुट्टै दुई रिट निवेदन दायर गरेका थिए ।

