नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सांसद र पीएले ३ महिनाको तलब एकैपटक पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पीएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ ।
फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले जानकारी दिए । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो ।
सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन छ । मंसिर महिनाको पूरै तलब बुझेपनि सांसदहरूले विघटनअघि पुसको ५ दिनको तलब समेत पाएका थिएनन् । प्रमुख लेखा नियन्त्रक सिग्देलका अनुसार मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको थियो । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद बहाल छन् । ती मध्ये ४ जना निलम्बनमा छन् । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् ।
प्रतिनिधि सभाका सांसदका पीएका लागि मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । सांसदका पीएले अधिकृत स्केलको तलब बुझ्ने गर्छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन असंवैधानिक भनेपछि काम नभएपनि सांसदहरूले पूरै महिनाको तलब पाउने छन् ।

