नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
सडक विस्तारको नाममा काठमाडौंका आदिवासी नेवारलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताए । बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरूको भनाइ छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरूको आरोप छ ।
घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्तालाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरूको रिहाइको मागसहित कानूनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताइन् ।
मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताए । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घर भत्काएको उनले बताए । वर्षौदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानूनी रुपमा पनि आफूहरूको जित भएको भएपनि राजनीतिक कारण आफूको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताए ।
प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ता रिहाइ नभए र विस्थापित भएका परिवारबारे न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाइ छ । विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको ब्यानरमा भएको विरोध प्रदर्शनमा मापदण्ड ७–७ मिटर छुट्याई आफ्नो स्वबासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो लगायतका प्लेकार्ड तथा व्यानर समेत प्रदर्शन गरिएको थियो ।
