नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।

तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्। उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्। तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए।
पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका हुन्। पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन्।
