ओली समूह, कांग्रेस र जसपाको ठाकुर समूहबीच सहकार्यको सम्भावना

सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै तत्कालको लागि निर्वाचनको कार्यक्रमहरू स्थगित भएपनि दलहरूले नयाँ प्रधानमन्त्री चुन्न नसकेर फेरि देश निर्वाचनमा जाने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र हिम्मत भए अविश्वासको प्रस्ताव पारित गरेर हटाउन चेतावनी दिएसँगै प्रचण्ड–नेपाल समूह थप समस्यामा परेको छ । नेकपा राजीतिक रूपमा फुटेपनि कानुनी रूपमा एक भएकोले ओलीलाई सरकारबाट हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ आवश्यक छ । तर नेपाली कांग्रेस र राजपा दुबै दलले नेकपा कानुनी रूपमा विभाजित नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने बताएपछि सरकार परिवर्तन तत्काल सम्भव नदेखिएको हो ।

अविश्वासको प्रस्ताव असम्भव भएपछि ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने अर्को विधि हो संसदीय दलको प्रमुखबाट हटाउने । त्यसको लागि नेकपाको संसदीय दलको निर्वाचन हुनुपर्छ । त्यो निर्वाचनको आव्हान पनि संसदीय दलको प्रमुख या उपप्रमुखले बोलाउनुपर्ने कानुनी व्यवस्था छ । संसदीय दलको प्रमुख ओली आफंंै र उपप्रमुख पनि ओलीनिकट सुवास नेम्वाङ रहेकोले प्रचण्ड नेपाललाई संसदीय दलको निर्वाचन गराउन सहज छैन । भैहालेमा पनि ओली समूहले आफूले बहुमत सदस्यको समर्थन जुटाएको दाबी गरिरहेको र अन्तिमसम्म सांसद्हरू विभिन्न प्रलोभनमा परेर उतै बहुमत जुट्ने हो कि भन्ने आशंका प्रचण्ड–नेपाल समूहलाई लागेको छ ।



आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सहज नभएको बुझेर नै प्रधानमन्त्री ओलीले राजीनामा दिन्न, सकेको गर भन्दै धम्की दिने गरेका छन् । साथै नेपाली कांग्रेसले र जसपाका पनि महन्त ठाकुर र राजेन्द्र महतो समूहले आफूसँगै सहकार्य गर्न चाहेको बुझेर नै ओली थप हौसिएका छन् ।

किन ओलीतिर ढल्कदैछन् कांग्रेस र जसपा ?
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई नेकपा फुटेको अवस्थामा साथ दिने सङ्केत दोहोर्याएको छ । साथै उसले राजनीतिलाई नेकपाको विवादले असर गरेको भन्दै कि मिल्न र कि पार्टी फुटाउन सुझाव दिने गरेको छ । पार्टी फुटाउन संसद् संख्या र केन्द्रीय सदस्यको कारण अफ्ठ्यारो परेको भए पहिलेको जस्तै अध्यादेश ल्याएर पार्टी फुटाउन उसले आग्रह गरेको बुझिएको छ । सो अध्यादेश पारित गर्न सघाउने वचन पनि ओलीलाई कांग्रेसले दिएको बताइन्छ ।

कांग्रेसले कानुनी रूपमा नेकपा फुटेमा तत्काल देशलाई निर्वाचनमा लान चाहन्छ । नेकपा फुटेको अवस्थामा र उनीहरूबीच पार्टीको नाम र निर्वाचन चिन्ह फ्रिज भएको अवस्थामा ओलीलाई उचालेर तत्काल निर्वाचन गराउन सकेमा आफ्नो बहुमत आउने कांग्रेसको बुझाइ छ । त्यसको लागि देउवाले ओलीसँग सहकार्य गर्न चाहेका छन् ।

यता प्रचण्ड–नेपाल समूहले संसद्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेमा त्यसको पक्षमा मतदान गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नयाँ प्रधानमन्त्रीमा कसैलाई पनि समर्थन नगरेर पुनः निर्वाचनको बाटोमा देशलाई धकेल्ने रणनीति पनि कांग्रेसले लिएको देखिन्छ । कांग्रेसको समर्थनविना नेकपाका दुबै समूह र जसपा कसैको पनि सरकार बन्न सम्भव नरहेकोले पनि कांग्रेसले अहिले सरकारमा जानुभन्दा निर्वाचित भएर आएर पाँच वर्ष नै सरकार चलाउन चाहेको हुनसुक्छ ।

यता जसपामा पनि पछिल्लो राजनीतिक अवस्थालाई लिएर ओलीलाई साथ दिने कि प्रचण्ड नेपाल समूहलाई भन्नेमा विवाद देखिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव प्रचण्ड–नेपाल समूहलाई साथ दिनुपर्ने अडानमा छन् भने महन्त र राजेन्द्र महतो भने ओलीलाई साथ दिनुपर्ने लाइनमा छन् ।

यता प्रधानमन्त्री ओली पनि आफू पदबाट हट्नु परे पनि नयाँ प्रधानमन्त्री छान्न नसकेर देश पुनः निर्वाचनमा गएमा संसद् विघटन गर्नेे आफ्नो कदम ठीक भएको पुष्टि हुने र नेपाली राजनीतिमा आफ्नो कद थप उचो हुने लोभका देखिन्छन् । त्यसैले कांग्रेस ओली र जसपाको एउटा समूहको गठबन्घन हुने र देश पुनः निर्वाचनमा जाने सम्भावना बलियो देखिन्छ ।

 

सम्बन्धित समाचार