नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिकता पाइसकेको दाबी गरेका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफू यो निष्कर्षमा पुगेको बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा पनि हार हुने जिकिर गरे । ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको भान पार्दा आफू आश्चर्यमा परेको उनले बताए ।
अध्यक्ष प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने र ओली वहिर्गमन हुने जिकिर पनि गरे ।
निर्वाचन आयोगले नेकपा विवाद केन्द्रीय समितिको टाउको गनेर समाधान गर्ने तयारी गरेको खबरहरु बाहिरिएका छन् । आयोगको यो निर्णयसँगै प्रचण्ड नेपाल समूह उसाहित भएको छ ।

