नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।

प्रधानमन्त्री केपी ओली आज मोरङको उर्लाबारी जाने भएका छन्। उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली मंगलबार जान लागेका हुन्।
जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ। सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य छ।
त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् । सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली सोमबार पोखरा गएका थिए भने आइतबार विराटनगर गएका थिए। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओली देशका विभिन्न ठाउँ पुगेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा सहभागी हुने गरेका छन्।

